शान्ति प्रकृयालाई अगाडी बढाउँदै गर्दा वैद्य समूहको आलोचनाको तारो बनेका छन प्रचण्ड । हिजो बाबुराम भट्टराईलाई ‘रअ’ एजेण्ट भनेर प्रशिक्षणमै घोषणा गर्ने प्रचण्डलाई अहिले बैद्य र बादलले खुलेआम ‘रअ’को एजेन्ट भनिरहेका छन् । हिजो प्रचण्ड’पथ’ मात्र हैन त्यसलाई ‘बाद’ कै तहमा लैजानुपर्छ भन्ने बैद्य अहिले प्रचण्डले तानाशाही प्रबृत्ति देखाएको बताइरहेका छन् ।
तर, यी आक्रमण र आलोचना निकै कम प्रतिबाद गरिरहेका छन प्रचण्डले । बैद्य पक्षको सैद्धान्तिक आधार, फरकमत, शान्ति र संबिधानको कार्यदिशामात्र हैन, चारबुँदे, सातबुँदे र आफुमाथि आइपरेको नेतृत्व संकटबारे पनि उनले खुलेरै कुरा गरेका छन एउटा लामो अन्र्तवार्तामा । आफु निकट द्वैमासिक जर्नल ‘क्रमभङ्ग’लाई अन्र्तवार्ता दिंदै उनले धेरै भित्री घटनाक्रमलाई उद्घाटन गर्ने प्रयास गरेका छन् । त्यही अन्र्तवार्ताको सम्पादित अंश हामी यहाँ प्रस्तुत गर्दैछौं ।-सं)
पार्टी केन्द्रीय समितिको निर्णय बिपरित, पार्टीको नेतृत्वका विपरित संसारकै कम्युनिष्ट आन्दोलनमा कहिं नदेखिएको अराजकता र गुटवाद हामीकहाँ अहिले देखा परेको छ । हेर्दा जतिसुकै बिचारको जामा पहिर्याउने र बिचारको ब्यानर झुण्डाउन खोजेपनि यो अलि बढि नै गुटगत, अलिकति बढी नै ब्यक्तिगत स्वार्थबाट प्रेरित छ भन्ने लाग्छ । अहिले बाहिर जे देखाउने गरिएको त्यो यथार्थ होइन, यथार्थ यसको ठीक विपरित छ । त्यसकारण यसलाई म त्यतिधेरै वैचारिक प्रबृत्ति छ भन्नु उचित देख्दिन । यो बिशुद्ध गुटगत, ब्यक्तिगत र निम्न पुजीपति वर्गको एउटा स्वार्थमा आधारित छ ।
यो राम्रो कुरा हैन, यसले आमजनता, क्रान्तिकारी कार्यकर्ता, समर्थक, शुभचिन्तकमा ठूलो चिन्ता नै जन्माएको छ । यसले कुनै सकरात्मक सन्देश दिएको छैन । यो नराम्रो हुँदाहुँदै पनि नराम्रोभित्र राम्रो पनि देखिरहेको छु म । जो साथीहरुले राँके जुलुस र चक्काजाम गर्नुभयो, उहाँहरुको हालत अहिले धेरै नै कमजोर भएको छ, धेरै मान्छे स्पष्ट भए । हिजो ती चक्काजाम गर्ने साथीहरुको भ्रममा रहेका मधेस राज्यसमिति, केन्द्र र जिल्ला समितिको ठूलो पंक्तिमा त्यतापट्टी त हैन रहेछ, गल्ती गरिएछ भन्ने पर्यो । त्यो नकरात्मक गतिबिधिले थुप्रै इमान्दार नेता कार्यकर्तालाई सही लाइन र नेतृत्वको पक्षमा स्पष्ट हुन मद्दत गर्यो ।
प्रचण्डपथ स्थगित गर्नु गल्ती
अहिले जुन डरलाग्दो स्थीति छ, म कहिलेकाहीं सम्झन्छु, नेतृत्वको महत्वलाई गिराउने, केन्द्रीकरणको बिरोध गर्ने, नेतृत्वलाई बदनाम गर्ने, जुन उत्र्कषमा अहिले पुगेको छ , कल्पना गर्न नसक्नेगरि जो मानिसले यस्तो गरिरहेका छन, तीनैले हिजो कल्पनै गर्न नसक्नेगरि राम्रो भन्थे । दुई लाइन संर्घष किन यस्तो भयो त भनेर हेर्दाखेरि शान्ति प्रकृयामा आइसकेपछि बिभिन्न समूहसँग एकता भयो, बिभिन्न ब्यक्तित्वहरुसँग एकता भयो, ध्रुबीकरण हुँदै गयो र त्यो ध्रुवीकरणलाई अझै बृहत्तर बनाउनका निम्ति, अझ बिचार संश्लेषणलाई नयाँ उचाईमा उठानका निम्ती मेरै प्रस्तावमा प्रचण्डपथलाई स्थगित गरौं, यसलाई आन्तरिक बिषय बनाएर बाहिर रोकौं भनेर मैले भनें ।
प्रचण्डपथलाई राखिराखेको भए अहिले मान्छेहरुलाई धेरै नै गाह्रो पथ्र्यौ । त्यो हटाइदिएर बाँदरलाई लिस्नोजस्तो भएछ । प्रचण्डपथले नियन्त्रण गरिराख्दो रहेछ भन्ने मलाई कहिलेकाहीं अनुभूति हुन्छ । अहिले त सवै प्रचण्डजस्ता भए । तर मेरो अहिलेको निष्र्कष चाहिं त्यो हैन, प्रचण्डपथलाई बेठिक भनेर हटाइएको हैन, स्थगित गरियो, आन्तरिक बहसमा लैजाने भनियो । महाधिवेशन गएर टुंगाउने भनिएको हो । यस दृष्टिकोणबाट सैद्धान्तिक गल्ती भएजस्तो मलाई लाग्दैन् ।
देवत्वकरण र राक्षसीकरण गर्ने एउटै
नेतृत्वमा रहेर नेतृत्वका बारेमा संश्लेषण गर्दै यहाँसम्म आउने क्रममा मैले दुईटा चरम प्रबृत्तिको अनुभूति गरें । नेतृत्वलाई धेरै ग्लोरिफाई-गौरवान्वित) गर्दा त्यसको नतिजा के हुँदो रहेछ भन्ने मैले गहिरो गरि अनूभुत गरें । त्यसको ठिक बिपरित नेतृत्वलाई पूर्णरुपमले बिनास गर्न खोज्ने प्रबृत्तिले के लिएर आउँदो रहेछ भन्ने पनि मैले देख्न पाएँ । दुईटै चीज मैले एकैचोटी भोगें । यहाँनिर बडो अनौठो कुरा, ती पात्र उनै हुन । हिजो देवत्वकरण गर्ने काम जुन पात्रले गरे, अहिले त्यसलाई भ्रष्टीकरण गर्ने र बिध्वंस पार्ने पनि तिनै पात्र देखापरेका छन् । यस्तो देख्दाचाहिं यो के रहेछ भन्ने सैद्धान्तिक संश्लेषण जरुरत भएको अनुभूति हुन्छ । नेतृत्वको हैसियत र सम्पूर्ण पार्टीले बिचार गर्नुपर्ने भयो, कहीं हिजो देवत्वकरण गर्ने प्रवृत्तिसँग जति संर्घष गर्नुपर्दथ्यो, त्यति गरिएनछ कि । त्यसो भएर त्यो पहिले देवत्वकरण गर्ने प्रवृत्ति स्वतः अहिले भिन्न परिस्थीतिमा राक्षसीकरण गर्नेतिर गयो कि ? निम्न पुँजीपतीवर्गिय प्रबृत्ति कसरी दुईटा चरम रुपमा ब्यक्त हुन्छन भन्ने यसबाट देखिन्छ । पात्र दुई भए त अर्कै आयो भन्ने हुन्थ्यो, पात्र नै उही छन् । यो एउटा संश्लेषण हुनुपर्ने बिषय हो ।
हिजो चरमरुपमा देवत्वकरण गर्ने प्रवृत्तिसँग समुचित संर्घष नगरेकाले अहिले राक्षसीकरण प्रवृत्ति देखापर्यो भन्ने संश्लेषण गर्नु पनि मैले त्यतिकै जरुरी देखेको छु । ताकि आउने दिनमा पनि भावी पिंढीले यसबाट पाठ सिकोस र देवत्वकरण र राक्षसीकरण गर्दा पनि त्यससँग संर्घष गर्ने आबश्यकतालाई द्वन्द्वात्मक भौतिकबादका आधारमा सन्तुलित ढंगले लैजान सकोस् ।
बिचलन आयो भन्नेहरु सामन्तीका नजिक
हाम्रो पार्टीमा एउटा निम्न पुँजीपतिवर्गको अलि सुधारवादतिर झुकाउ भएको प्रवृत्ति, उच्च मध्यमवर्गतिर अलिकति झुकाउ भएको प्रवृत्ति, बुर्जुवासँग अलि नजिक हुन चाहने, बुर्जुवालाई अलि बढी विश्वास गर्ने, बुर्जुवा आदर्शप्रति अली बढी झुकाउ भएको एउटा प्रवृत्ति छ । एउटा असाध्यै संकीर्ण, ससाध्यै यान्त्रिक त्यो चाँही निम्न पुँजीपतिवर्गको, झन्नैझन्नै त्यो तप्का अलि लम्पट सर्वहारको नजिक छ, एकदम अराजक छ । त्यो कुनै पद्धतीमा छैन । यी दुबै निम्न पुँजीपति वर्गका प्रवृत्तिहरुको कुनै भर हुँदैन । कहिले यिनीहरुले बडो उग्र क्रान्तिकारी नारालाई अघि सारेर भ्रम दिने कोसिस गर्छन्, कहिले असाध्यै दक्षिणपन्थी र पत्याउनै नसिकने गरेर बुर्जुवाहरुसँग वा त्यहाँभन्दा पनि पछि हटेर पुराना सामन्तहरुसँग गएर साँठगाँठ गर्न समेत यिनीहरुले केही गारो मान्दैनन् । त्यसकारण भन्दाखेरि त सैद्धान्तिक रुपले त यो प्रवृत्ति भन्नु पर्ने तर मैले जे मान्छेहरुलाई हेरिरहेको छु, प्रतिनिधि पात्रहरुलाई हेर्दा अहिले सबैभन्दा क्रान्तिकारी कुरा गर्ने, लौ विचलन आयो भन्नेहरु चाहिँ सामन्तीहरुका नजिक छन् । नेपालका हिजोका राजा महाराजा, मण्डलेहरुसँग यिनीहरुको बढी साँठगाँठ भएको मैले देखिरहेको छु । लम्पट प्रवृत्तिको भएको हुनाले तिनीहरुको आफ्नो स्वार्थमा नै बढी केन्दि्रत हुन्छन् तिनीहरु । जरुरी पर्यो भने त्यो जसलाई बुर्जुवा सुधारवादी भन्यो त्यससँग गएर घुँडा टेकेर पुरै त्यसैलाई जी हजुरी गर्न पनि त्यसले केही गारो मान्दैन भन्ने कुरा पनि हामीले देखिसकेका छौँ । त्यसकारण एउटा आदर्शका निम्ति लडिरहेका कुनै प्रवृत्ति हुन् भनेर सोचियो भने त्यो मनोगत हुन्छ । निम्न पुँजीपति वर्गको दक्षिण र वाम प्रवृत्तिहरु हुन् । यी कहिले झगडा गरे जस्ता देखिन्छन्, कहिले सजिलैसँग मिल्छन् तर अन्ततः मिल्छन् । अन्ततः उनीहरुले क्रान्तिलाई क्षति पुग्ने, क्रान्तिकारी विचार र नेतृत्वलाई विध्वंश गर्ने काममा तिनीहरुको जहिले पनि समान सोचाइ भइराख्छ । यसरी हेर्दा के लाग्छ भने दुई महिना अगाडि ती दुबै प्रवृत्ति मिलेको देखिन्छ, दुई महिना पछि हेर्दा अर्को ठाउँमा मिलेको देखिन्छ । कहिले सामन्तहरुसँग साँठगाँठ गर्न पुगेको हुन्छ, कहिले बुर्जुवासँग साँठगाँठ गर्न पुगेको हुन्छ, कहिले फेरि चर्का चर्का नारा दिएर एक दुई दिन मुर्खतापूर्ण गतिविधि गरेर चकाचौँध गर्न सकिन्छ कि भन्ने सपना देखेको हुन्छ । जब कि त्यस्तो हुँदैन । हरेक चीज नियममा हुन्छ । त्यो नियमसँग यो गइरहेको छैन । त्यसकारण अहिले दुई लाइन सङ्घर्षको कुरा गर्दा म के ठान्छु भने माक्र्सवाद र अवसरवादका बीचको सङ्घर्ष हो यो । त्यसभन्दा अरु हो जस्तो मलाई लाग्दैन ।
मेरो नेतृत्व समस्या हैन
मैले अस्ति एक जना बुद्धिजीवीसँग अरु सबै प्रधानमन्त्री भएका मान्छे विदेश गएर जे गरे पनि वास्ता हुँदैन म बाहिर यसो गयो भने किन गयो भन्छन्, मैले कुनै कपडा लगाए पनि यस्तो लगायो भन्छन्, खायो भने पनि यस्तो खायो भन्छन्, रोयो भने पनि किन रोयो भन्छन्, हाँस्यो भने किन हाँस्यो भन्छन् भनेको थिएँ । नेतृत्व मानेको हुनाले त्यसो गरेका हुन् । नेतृत्व नमानेको भए ती मान्छेहरुले वास्तै गर्दैनथे । जसले विरोध गरेका छन् तिनीहरुको मनभित्र नेता यही मात्रै हो भन्ने छ अरु चाहिँ नेता होइनन् भन्ने छ भने । त्यो कुरा मलाई चित्त बुझ्यो ।
मलाई पनि एक दुई वर्ष पहिलेसम्म अलि बढी अत्यास लाग्थ्यो तर अब चाहिँ म आत्तिन छोडेँ । अब अलिअलि सिकियो । यो भीषण वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षमा कसरी पेस हुने रहेछ भन्ने कुरा अलिअलि जानियो । पहिला त सोझै सोझै गरियो । सुरुमा त मेरो कार्यनीति नै भएन । भित्र मनमा जे छ सब बाहिर बोलेपछि हुन्छ भन्ने भयो । जनताको एउटा ठुलो हिस्साले त राम्रै मान्यो तर प्रतिक्रियावादी अवसरवादीहरुले त्यहाँबाट ठुलो फाइदा उठाउन खोजे । त्यो चाहिँ मैले अहिले अलि बुझेँ । नेतृत्व विकसित हुने प्रक्रिया पनि रहेछ ।
शान्ति र संविधान नै क्रान्ति
मेरो दृष्टिमा र हाम्रो पार्टीको आधिकारिक दृष्टिकोण पनि के हो भने अन्ततः हामीले क्रान्ति सम्पन्न गर्नलाई जनविद्रोह नै प्राथमिक कुरा हो, त्यसमा द्विविधा होइन । तर, हाम्रो अलिकति त्रुटि विगतमा के भयो भने हामीले विद्रोहको हल्ला बढी गर्यौँ । विद्रोह सङ्गठित गर्नका लागि आवश्यक कार्यनीतिमा जुन गम्भीरता, जिम्मेदारी, जोड र योजना बनाउनुपथ्र्यो, हामी त्यतापट्टि कम लाग्यौँ । जनविद्रोह भन्यो भने वा अहिले नै जनविद्रोह भनेर प्रचार गरियो भने विद्रोह हुँदैन, मेरो बुझाइ अर्को त्यो हो । अहिले शान्ति र संविधान टुङ्ग्याउनका निम्ति बल गर्यो भने त्यसले नै जनविद्रोह या त तपाईंहरुले भने जस्तो पहिलो तरिका वा यदि त्यसलाई बाधा पारियो भने जनताले प्रस्ट देख्छन् कि संविधान सभाको ठुलो पार्टी माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र संविधान बनाउनका निम्ति सर्वाधिक गम्भीर, जिम्मेवार पहल लिएको थियो तर यो कारणले भएन भन्ने भयो भने त्यही विन्दु नै आन्दोलनको ठुलो विन्दु हुन सक्छ । त्यही आन्दोलन विकसित भएर जनविद्रोहमा जान सक्छ, एउटा । दोस्रो, शान्ति र संविधान बन्यो भने त्यो बनेको शान्ति र संविधानले नै दलाल, पुँजीपति वर्गलाई अझ बढी तिनीहरुको अधिकार च्युत गर्दै जनताको अधिकारलाई अझ बढी संस्थागत गर्दै एउटा बिन्दुमा चाहिँ थोरैभन्दा थोरै रक्तपातबाट पनि क्रान्ति पूर्ण हुन सक्छ । यी दुइटै सम्भावना छन् । मेरो भनाइ के हो भने जनविद्रोहको हल्ला बढी भयो भने जनविद्रोह चाहिँ हुँदैन, अहिलेको स्थिति त्यही हो । शान्ति र संविधान भनेर मात्रै हामी जनतालाई प्रशिक्षित पनि गर्न सक्छौँ र फेरि त्यो शान्ति र संविधान भन्ने भनेको जनविद्रोह गर्नका लागि भनेर पनि होइन । शान्ति र संविधानै निर्माण गर्नकै लागि तयार गरिने शान्ति र संविधानको कार्यनीतिले मात्रै क्रान्तिलाई पूर्णतामा लान सक्छ ।
युद्ध लड्नेहरु बिदेशतिर
अहिले लाखौँ नेपाली किसानका छोराछोरीहरु जसले युद्ध गर्नुपर्ने हो ती विदेशका असाध्यै विकसित उत्पादन शक्तिको संसर्गमा छन् । पहिलो कुरा यो हो । नेपाली अर्थतन्त्र अहिले के कारणले टिकिराखेको छ त ? परम्परागत उत्पादन सम्बन्धले भन्दा विदेश गएर कमाइएको पैसा -रेमिटेन्स) ले नेपाली अर्थतन्त्रको महफ्वपूर्ण हिस्सा चलेको छ । अब माओले गरेको जस्तो विश्लेषण हामीले खोज्यौँ भने त्यो अनुसारको अर्थतन्त्र नै हाम्रोमा भेटिँदैन । त्यसलाई कसरी हेर्ने भन्ने कुरा दोस्रो हो । तेस्रो कुरा चेतनाको हो । जब मान्छे विदेश जान्छ, उसले निश्चित चीजहरु देख्छ, सभ्यता र संस्कृतिको असर कुनै न कुनै रुपमा उसले मनोवैज्ञानिक रुपमा ग्रहण गरेर आएकै हुन्छ । ऊ ती अनुभवहरुलाई सांस्कृतिक रुपमा बोकेर आउँछ । उसले के बोकेर आउँछ भन्ने हिसाब नगरीकन -पिछडिएको देशको संस्कृति यस्तो छ मात्रै भनेर परम्परागत ढङ्गले सोचेर) त्यसको व्याख्या विश्लेषण गरियो भने सही रणनीति र कार्यनीतिको विकास गर्न सम्भव छैन । चौथो कुरा, पहिले पहिले जस्तो एक ठाउँमा फौजी कारबाही भयो वा राजनीतिक गतिविधि भयो वा आधार इलाका भयो भने त्यहाँ के भइराखेको छ भन्ने कुरा बाँकी दुनियाँले थाहा पाउन महिनौँ, कहिले त वर्षौँ कुर्नु पथ्र्यो ।
संसारमा कहाँ के भइराखेको छ भन्ने कुरा यति छिटो र यति तीव्र गतिमा जुन विश्वव्यापीकरण भएको छ, त्यसलाई हिसाब नगरीकन एउटा देशमा क्रान्ति पुरानै तरिकाले गर्छु भन्यो भने त्यसको नियत जतिसुकै राम्रो भए पनि नियति चाहिँ आत्मघातीबाहेक केही पनि हुँदैन । यी विषय मैले उठाउन खोजेँ मात्रै । यिनलाई सैद्धान्तीकरण, विश्लेषण र समुचित संश्लेषण नगरीकन क्रान्तिलाई अब कुनै पनि देशमा सफलतासम्म डोर्याउन सम्भव छैन । सबाल यहीँनेर छ । यसले के देखाउँछ त भन्दा अब नयाँ जनवादी क्रान्ति र समाजादी क्रान्तिको भेद धेरै नै मेटिँदै छ ।
मन्त्री नपाएर बैद्यको विरोध
कन्टेरनरको साँचो प्रकरणमा केही साथीहरुले अलिकति उत्तेजित भएको र नेतृत्वका बारेमा थुप्रै आरोप लगाउन खोजिएको जुन अबस्था छ, यथार्थ त्यस्तो होइन् । उहाँहरुलाई रिस उठेको साँचोले हैन, मन्त्रीले हो । त्यो साँचो सम्बन्धी साँचो यदि कसैले साँच्चै बुझ्न चाहेको छ भने त्यो साँचो मुख्य कुरा हैन, मन्त्री हो । यो कुरा म प्रमाणसहित भन्न सक्छु । बाबुरामजी पक्षको होइन कि किरण पक्ष भन्ने साथीहरु नै उपप्रधान मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री सबै हामीलाई अध्यक्षले दिन्छन् ? सबै त माग्नु पनि भएन नि भनेपछि त्यहाँ विवाद चल्यो । तैपनि २ बजेको बैठकसम्म चाबीको बारेमा कसैलाई टेन्सन थिएन, मन्त्रीको टेन्सन थियो । भोलिपल्ट बिहानदेखि कान्तिपुर, नागरिक आदि पत्रिकाहरुका ब्यानर न्युजमा आज चाबी हस्तान्तरण हुने भन्ने थियो तैपनि त्यो कुरा त्यहाँ उठेन । किरणजी वा अरु कसैले त्यो कुरा मलाई सोध्नु भएन । २ बजे किरणजी, बाबुरामजी र म समेत बसेर कमान्डरहरुलाई चाबीको कुरा के हो भनेर मैले बुझाएँ । यसो यसो हो, यसमा केही टेन्सन लिनु पर्दैन भनेर मैले बुझाउँदा पनि किरणजी त्यहीँ हुनुहुन्छ । त्यहाँ कुनै आपत्ति भएन । दुइटा क्यान्टोन्मेन्टको त बिहानै चाबी बुझाइसकिएको रहेछ । त्यो बुझाए पनि यो के गरेको हो भन्ने वा भिन्न मत राख्ने केही पनि थिएन । अनि जब साँढे दुई बजेसम्म कमान्डरहरुसँग बसेर यो कोठामा आएर किरणजी, म, बाबुरामजी बसेर मैले मन्त्रीको लिस्ट पेस गरेँ त्यहाँ कुरा मिलेन । किरणजीको चित्त बुझेन । ल भइहाल्यो, म साथीहरुसँग सल्लाह गर्छु भनेर उहाँ जानु भयो । एक घन्टापछि मलाई फोन गरेर चाबी बुझाउने निर्णय भएको हो भनेर सोध्नु भयो । मलाई अनौठो लाग्यो । त्यो त हिजै भएको हो नि, त्यत्रो कुरा भइसक्यो भनेँ । उहाँले मेरो त चित्त बुझेको छैन है भन्नुभयो । ल अब चित्त बुझेको छैन भने के गर्ने हो गर्नू भनेँ । त्यसकारण यो चाबीको कुरा होइन, साँचो कुरा चाहिँ मन्त्रीको हो ।
साँचो प्रकरणमा जे कुरा हो, मधेसी मोर्चासँग भएको चारबुँदे सम्झौता पनि उस्तै हो, एउटै हो । सम्झौतालाई पार्टीले त अनुमोदन गर्यो । उता सभासदहरुले पनि अनुमोदन हुनुपर्छ भनेर संयुक्त सभासद भेला राखियो मधेसी मोर्चा र हाम्रो । त्यसभेलामा देव गुरुङले ऐतिहासिक सहमति भयो भन्नुभयो, सम्पूर्ण सभासदले यसलाई पारित गर्नुभयो । त्यस कारण यो चारबुँदे पनि साँचो जस्तै हो । मन्त्री पाउँदा चारबुँदे ठिक, मन्त्रीमा कुरा नमिल्दा चारबुँदे राष्ट्रघाती भन्ने आयो ।
No comments:
Post a Comment