सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, January 13, 2012

चिनियाँ प्रधानमन्त्री शनिबार नेपाल आउने


२९ पुस, काठमाडौं । तीन दिने भ्रमणका लागि नेपाल आउने र ठूलै सहयोग प्याकेज घोषणा गर्ने भन्दै तामझामका साथ तयारी गरिएको चिनियाँ प्रधानमन्त्रीको भ्रमण अन्ततः ‘ट्रान्जिट भ्रमण’मा सिमित भएको छ ।
चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भोलि शनिबार केही घण्टाका लागि नेपाल आउनु हुने भएको छ । उच्च श्रोतका अनुसार कतार जान लागेका जियाबाओ नेपालमा करिव ५ घण्टा बिताएर साँझ दोहातर्फ लाग्नुहुनेछ ।
बिशेष बिमानबाट विहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नु हुने बेन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न सिधै सिंहदरवार जाने कार्यक्रम छ । भेटमा जियाबाओले नेपालमा बढ्दो चीन विरोधी गतिविधीबारे कुरा उठाउनु हुने बताइएको छ । यस्तै हालै मात्र ९७ हजार अमेरिकी डलरसहित पक्राउ परेका चिनियाँ नागरिकहरुको बारेपनि पनि चिनियाँ पक्षले कुरा उठाउने बताइएको छ ।
सिंहदरवारमै मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले सामुहिक भेटवार्ताको कार्यक्रम मिलाइएको छ । अपरान्ह ३ बजे राष्ट्रपति भवन सितलनिवास पुगेर बेनले राष्ट्रपति डा. रामबरण यादवलाई भेट्ने कार्यक्रम रहेको छ । साँझ करिव ४ बजेतिर बेन दोहाका लागि प्रस्थान गर्ने तालिका रहेको बताइएको छ ।
बेनको भ्रमणबारे औपचारिकरुपमा चिनियाँ दूतावास र नेपाल सरकारले केही पनि जानकारी गराएका छैनन् । नेपालका लागि चिनियाँ राजदूत योङ होउलानले हिजोमात्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी आफ्ना प्रधानमन्त्रीको केही घण्टे भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

भ्रमण अबधिमा त्रिभुवन बिमानस्थल र काठमाडौंको सुरक्षा ब्यबस्था कडा पार्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ । बिहान ११ बजे बिशेष बिमानमा बिमानस्थलमा उत्रने भन्दै सरकारले बिमानस्थल ब्यबस्थापनलाई बिमान त्यहाँ रहँदासम्म उच्च सर्तकर्ता अपनाउन निर्देशन दिएको छ ।
यसअघि सरकारले पुस ५ गतेदेखि बनेको नेपाल भ्रमण हुने भन्दै तयारी गरेपनि अन्तिम समयमा आएर उहाँको भ्रमण स्थगित भएको थियो । श्रोतका अनुसार नेपालको सुरक्षा ब्यबस्थाप्रति आश्वस्त हुन नसकेपछि चिनियाँ पक्षले अन्तिम समयमा आएर भ्रमण स्थगित गरेको थियो । दुई साताअघिमात्र नेपालका गृहमन्त्री बिजयकुमार गच्छदार चीन पुगेर सुरक्षा प्रदान गर्ने र भ्रमण दौरानमा तिब्बतीबाट कुनै अपि्रय घटना नहुने भन्दै आश्वास्त तुल्याउने प्रयास गरेपनि चिनियाँ पक्षले प्रधानमन्त्रीको औपचारिक भ्रमण गराउन चाहेन् ।
ट्रान्जिट भ्रमणको अर्थ के ?
औपचारिक भ्रमण नगरि केही घण्टालाई मात्र नेपाल बसेर चिनियाँ प्रधानमन्त्रीले झारा टार्ने मानसिकता देखाएको कूटनीतिक बृत्तमा चर्चा हुन थालेको छ । मार्च १६ मा अबकाश पाउन लागेका बेन फेब्रुअरी सुरुदेखि नै जनकांग्रेस सम्मेलन र कार्यकाल बुझबुझारथ गर्न ब्यस्त हुने र नयाँ प्रधानमन्त्रीको पनि तत्काल नेपाल भ्रमण नहुने अबस्थाका कारण बेनले औपचारिकताका लागि मात्र नेपालमा ट्रान्जिट भ्रमण गर्न लागेको उनीहरुको अनुमान छ ।
परराष्ट्रविद लोकराज बरालले ‘गइदिउँ न त’ भन्ने मनसायले मात्र चिनियाँ प्रधानमन्त्री नेपाल आउन लागेको बताउनु हुन्छ । उहाँले भन्नुभयो-’नेपाल नगएको पनि दशक भयो, यसअघिको पनि स्थगित भयो भनेर बाटो परेकाले गइदिउँ न भन्ने जस्तो देखियो ।’ यस्तै पूर्व राजदूत जयराज आचार्यले तीन दिन भनिएको भ्रमण ५ घण्टामा सिमित हुनु र भ्रमणबारे केही घण्टा अघि मात्र जानकारी गराउनु असजिलो जस्तो देखिएको बताउनुहुन्छ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालका विदेशमामिला सल्लाहकार समेत रहेका राजन भट्टराई चिनियाँ प्रधानमन्त्री नेपालमा आउनु सकारात्मक भएपनि तीन दिनको भनिएको भ्रमण पाँच घण्टामा सिमित हुनु गम्भीर भएको बताउनुहुन्छ । ‘बाराक ओबामा इराक जाँदा जस्तै सुटुक्क नेपाल आउनु र केही घण्टा मात्र नेपाल रहनुले नेपाल सुरक्षित छैन भन्ने सन्देश विश्वभर जान्छ’ उहाँले भन्नुभयो-’यो सरकारको असफलता हो ।’

No comments:

Post a Comment