सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 30, 2011

दिक्तेलमा गोरु काटेर सामूहिक भोज

खोटाङको सदरमुकाम दिक्तेलमा आज एउटा फरक दृश्य देखियो। यसअघि लुकिछिपी हुने काम यस पटक खुल्लै रुपमा भयो। करिब २ सयको संख्यामा मानिसहरुले सार्वजनिक स्थानमै गोरु काटेर सामूहिक भोज खाएर तमु ल्होछार मनाए। अहिलेको सरकारले जातीय अधिकार कुल्चन खोजेको भन्दै विरोध स्वरुप यसो गर्ने घोषणा उनीहरुले यसअघि नै गरेका थिए। कार्यक्रममा प्रहरीको कुनै हस्तक्षेप भएन, भएको भए यसले अझै अर्को बबाल मच्चाउन सक्थ्यो। किनकि यो कान्डको सुरुवात गोरु काटेको भन्दै प्रहरीले चार जनालाई पक्रेपछि नै भएको थियो। यसको विरोधमा दिक्तेल बन्दसम्म आयोजना भयो।
यसरी सुरु भयो विवाद
गत पुस १ गते प्रहरीले दिक्तेलमा गोरु काटेको अभियोगमा चार जना युवालाई पक्राउ गर्‍यो- दिपेश जोशी, रामचन्द्र राई, नवीन गुरुङ र कर्णबहादुर तामाङ। मुलुकी ऐनको चौपायाको महल ११ मा जानीजानी गाईगोरु काटेको ठहरेमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रहरीले उनीहरुलाई पक्रेपछि देश धर्मनिरपेक्ष भइसक्दा पनि किराँती समुदायको संस्कृति अनुसार गोरु काट्नेलाई जेल हाल्ने भन्दै जनजाति संगठनहरु आन्दोलित भए। उनीहरुले पक्राउ परेकालाई छाड्न भने पनि प्रहरी छाड्न तयार भएन।

हिरासतमा रहेकाहरुलाई बिना शर्त छाड्नु पर्छ भन्दै प्रशासनमा ज्ञापनपत्र, प्रहरीमा डेलिगेसन, प्रधानमन्त्री र व्यवस्थापिका संसदमा ज्ञापनपत्र पठाइयो, दिक्तेल बजारमा र्‍याली पनि निकालियो।
यति गर्दा पनि केही नभए पछि आन्दोलनकारीहरुले दिक्तेल बन्दको आह्वान गरे। जातीय संगठनहरू तामाङ घेदुङ संघ, नेपाल मगर संघ, नेवाः खलः खोटाङ, किरात राई यायोख्खा, खम्वुवान राष्ट्रिय मोर्चा, शेर्पा संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यसको समर्थन गरे। जातीय संगठनमात्र हैन, जिल्लाका दलहरुले पनि गोरु काट्नेलाई जेल हाल्ने ऐन सच्याउनु पर्ने भन्दै आन्दोलनको समर्थन गरे। एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनशक्ति पार्टी र नेकपा एकीकृतले आन्दोलनको समर्थन गर्दै जातीय दंगाको खतरा हुने भएकोले पक्राउ परेकालाई छाड्न आग्रह गरे।
पुस ११ गते दिक्तेल बजार बन्द भयो। १२ गते उनीहरुलाई प्रशासनले रिहा गर्‍यो। शान्तिपूर्ण रुपमा छाड्न आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै रिहा भइसक्दा पनि कालो कानुनविरुद्धको आन्दोलन जारी राख्‍ने भन्दै आन्दोलनकारीहरुले पुस १५ गते सार्वजनिक स्थानमा गोरु काटेर सामूहिक रुपमा भोज खाने घोषणा गरे। र, आज २ सय जनाको उपस्थितिमा खुला रुपमा गोरु काटेर भोज भयो।
अगाडि होस पुर्‍याउन जरुरी
यो घटनाले सङ्क्रमणको यो कालमा यस्ता घटनामा होस पुर्‍याउन निकै जरुरी रहेको पाठ सिकाएको छ। लुकेर गोरु काटेकाहरुलाई पक्रँदा झन् सार्वजनिक रुपमा गोरु काट्दा पनि केही गर्न सकिएन। कसलाई बेफाइदा भयो? अतिवादलाई !

नेपाल अस्तिसम्म हिन्दू अधिराज्य थियो। अहिले अन्तरिम संविधानले धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र भनेको छ। हिन्दू अधिराज्य हुँदा यहाँ गाईगोरु काट्न र मासु खान कानुनतः निषेध थियो। तर यस्तै अवस्थामा पनि लुकिछिपी गाईगोरु काटिएकै हुन्थे। हिन्दूबाहेक नेपालका निवासी अन्य केही जातिलाई भने गाईगोरु खान निषेध छैन। उनीहरु आफ्नो अधिकार हिन्दूहरुले हनन् गरेको तर्क गर्थे। अहिले देश संक्रमण कालमा छ। आफ्नो अधिकारका लागि सबै जागरुक बनेका छन्। यस्तो अवस्थामा दुवै पक्ष संयमित हुन जरुरी छ।
बिर्सन नहुने के हो भने आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको आस्था र सम्मानमा चोट पुर्‍याउनु हुँदैन। हिन्दुहरुको बाहुल्य भएको क्षेत्रमा खुल्लमखुल्ला त्यसरी गोरु काट्दा उनीहरुको आस्था र सम्मानमा चोट पुग्छ, त्यसो गर्नु उचित हुँदै हैन। ठीक छ गोरुको मासु खान पाउने अधिकार उनीहरु प्रयोग गर्न चाहन्छन् भने गरुन्, तर कुनै हिन्दूको अगाडि खुल्लमखुल्ला नगरुन्।
त्यसैगरी हिन्दुहरुले पनि आफू अलि उदार हुनसक्नु पर्छ। नेपाल कै कुनै गाईगोरु खान मिल्ने समुदायको बस्तीमा कसैले गाईगोरु काट्छ भने त्यसलाई उनीहरुको अधिकारको रुपमा हेर्नुपर्छ। जसरी खान पाइँदैन भन्नु हिन्दुको अधिकार हो, त्यसैगरी खान पाइन्छ भन्नु पनि उनीहरुको अधिकार हो। तर मुख्य कुरो, यही निहुँमा दुई समुदायबीच द्वन्द्व निम्तिनु हुन्न। दुवैले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको सम्मान पनि गर्नुपर्छ भन्ने बिर्सनु हुन्न। नत्र साम्प्रदायिकताको दलदलमा फँस्छौँ हामी र बदलामा हामीले पाउने केही होइनौँ मात्र दुःख र पीडा।
एक समुदायले अर्को समुदायलाई सम्मान गर्ने परम्परा बसाल्नु पर्छ। अनि मात्र हामी अघि बढ्न सक्छौँ। म जनगणनामा हिन्दु लेखाउने नागरिक हुँ तर शाकाहारी। खासमा मलाई त कुनै पनि जनावर काटिएको मन पर्दैन। हिन्दुका हजारौँ राँगा खुला रुपमा वध गर्ने जात्रा, धर्मको नाममा बली दिने प्रथा पनि मन पर्दैन।
अब के ?
दिक्तेलको घटनालाई अब तन्काउनु उचित हुँदैन। सार्वजनिक रुपमा गोरु काटेर उनीहरुले सशक्त चुनौति दिइसके। यसलाई अब दोहोराउनु आवश्यक छैन। बरु यस्तो कानुन हटाउन शान्तिपूर्ण रुपमा दबाब दिने काम गर्नुपर्छ। यही घटनालाई सिको गर्दै अरु ठाउँमा पनि सार्वजनिक रुपमा गाईगोरु काटिने अवस्था आउनु हुँदैन। गाईगोरुको मासु खान पाउनु पर्ने अधिकार चाहनेहरुले अहिले अतिवादमा लाग्दा पाएको अधिकारसमेत गुम्न सक्छ। धार्मिक दंगाले अधिकार मात्र हैन, मान्छे मान्छेबीच फाटो ल्याउँछ। प्रहरी प्रशासनले पनि भएका कानुनको सान्दर्भिकता हेरी स्थानीय समुदायसितको समन्वयमा यस्ता संवेदनशील घटनामा कारबाही गर्नुपर्छ। तपाईँको के विचार छ यसमा ?



No comments:

Post a Comment