सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, October 31, 2011

यस्ता गुनासा सुनाए जनताले प्रधानमन्त्रीलाई


१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार दोश्रो पटक रेडियो नेपालको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममार्फत प्रत्यक्ष रुपमा जनगुनासो सुन्नु भएको छ । करिव एक घण्टाको कार्यक्रममा प्रत्यक्ष टेलिफोन सम्वाद तथा इमेलबाट सहभागिता जनाएका सर्वसाधारणले बढ्दो महंगी तथा कोलाबजारी नियन्त्रण, अनियमितता, त्रिभुवन विमानस्थलमा भोग्नु परेको समस्या, विकास निमार्ण लगायतका दैनिक जनजीवनमा भोग्नु परेको समस्याहरुबारे प्रधानमन्त्री भट्टराईको ध्यानाकर्षण गराएका छन् । केही स्रोताहरुले शान्ति र संविधान निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले सहमतिको प्रयास कहाँ पुग्यो भनेर जिज्ञासा राखे ।
कार्यक्रमको सुरुमा सञ्चालक नवराज लम्सालले शन्ति र संविधान निर्माणबारे तीन दलबीच भएको छलफलबारे जिज्ञासा राख्नुभयो । जवाफमा प्रधानमन्त्री भट्टराईले धेरै कुरा मिलिसकेको भन्दै बाँकी विषयमा टुङ्गो लगाउन जिम्मा तीन दलका अध्यक्ष/सभापतिलाई दिएको र भोलि बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-’धेरै कुरा साँघुरिदै आएको छ, केही कुरा टुङ्ग्याउन बाँकी छ । भोलि चार बजेको बैठकमा सहमतिको प्रस्ताव पेश हुन्छ ।’ दलहरुले सहमति नजिक पुगेको भनेपनि जनताले विश्वास गर्न सकेका छैनन नि भन्ने लम्सालको प्रश्नमा भट्टराईले भन्नुभयो-’भोलि नभए पर्सी हुन्छ । पर्सी नभए निर्कोसी हुन्छ । यसमा अत्तिनु पर्दैन ।’ प्रधानमन्त्री भट्टराईले वार्ताकै क्रममा रहेको भन्दै सहमति हुन नसकेका विषयहरुबारे भने केही बताउन चाहनु भएन ।
कार्यक्रमको पहिलो सहभागी चितवन जुटपानीका माओवादी लडाकू विनायक लामाले सेना समायोजन तथा पुनःस्थापनाबारे के भइरहेको भन्ने प्रश्न गर्नुभयो । जवाफमा माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईले राजतन्त्रको उन्मुलन र लोकतान्त्रिक गष्ण्तन्त्र स्थापनामा लडाकूहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै लडाकूहरुको पूर्ण सम्मान हुने गरी सेना समायोजन तथा पुनस्थापना गरिने बताउनु भयो । उहाँले दलहरुबीच सहमति भएपछि लडाकूहरुको राय सुझाव लिएर नै को समायोजनमा जाने र को पुनःस्थापनामा जाने भन्ने टुङ्गो लगाइने बताउनु भयो ।
यसैगरी कार्यक्रममा सहभागीहरुले दशैं/तिहारमा बजार तथा त्रिभुवन राजमार्गका होटलहरुमा तिब्र पारिएको अनुगमन हाल आएर सुस्ताएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री भट्टराईले अनुगमन दशैं/तिहारमा मात्र नभई सधै हुने बताउनु भयो । उहाँले बजार अनुगमन संधै हुने भन्दै गलत हर्कत गर्नेलाई नछाडिने बताउनु भयो । त्यसबीचमा कार्यक्रम सञ्चालक लम्सालले अनुगमनकर्तालाई नै अनुगमन गर्नु पर्ने आवाज उठेको छ भनि सोधेको प्रश्नमा भट्टराईले सबैमाथि अविश्वास गरेर नहुने भन्दै सबैले एक अर्कालाई निगरानी गर्नु पर्ने बताउनु भयो । उहाँले महंगीबाट जनता आक्रन्त भएकोमा आफू चिन्तित रहेको भन्दै सरकारकै तर्फबाट राहत दिने र विशेष वितरण प्रणालीका लागि गृहकार्य भइरहेको बताउनु भयो ।
भट्टराईकै जिल्ला गोरखाकै धनश्याम कट्टलले औषधीमा ठगी हुने गरेको विषयमा राखेको जिज्ञासामा प्रधानमन्त्रीले यसबारे आफू गम्भीर रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’खासगरी औषधीमा मिलेमतो गरेर भाउ बडाएको मैले पनि सुनेको छु । यसको अडाईका साथ अनुगमन गर्नुपर्छ ।’ उहाँले यसमा उचित ध्यान दिने बताउनु भयो ।
सीमामा हुने दुव्यवहारबारे धेरै गुनासो आएकोबारेमा प्रधानमन्त्री भट्टराईले भारतीय गृहमन्त्रीसँग गम्भीर ढंगले कुरा भएको भन्दै विदेशमा रहेका नेपालीहरुले आफ्नो कमाई सहज ढंगले नेपाल ल्याउने वातावरण बनाउन सीमामा संयन्त्र बनाइने सहमति भएको बताउनु भयो । साथै उहाँले सीमा विवादबारे पनि भारत भ्रमणमा छलफल भएको बताउनु भयो ।
सर्लाहीका डुण्डिराज पोखरेलले जनयुद्धमा भन्दा सत्ता र सरकारमा हुँदा माओवादी तानाशाही देखिएको भन्दै ‘मर्ने बेलामा कमिलाको पखेटा आएजस्तै’ हो भनि कडा प्रश्न गर्नुभयो । जवाफमा भट्टराईले माओवादी पनि यही समाजको उपज भएको भन्दै कमिकमजारीबाट अछुत भन्न नसकिने बताउनु भयो । उहाँले समकालिन नेपालमा माओवादी सबैभन्दा त्याग र बलिदानबाट आएको भन्दै सिद्धिन लाग्यो भन्नु गतल हुने भन्दै कमीकमजारीलाई सच्याएर जानु पर्नेमा जोड दिनुभयो ।
स्विट्जरल्याण्डको एक बैंकमा कार्यरत व्यक्तिले माओवादी नेताहरुको भारतीय बैंकमा रहेको पैसा स्विट्जरल्याण्डमा गरेको बारे सोधेको प्रश्नमा भट्टराईले स्विट्जरल्याण्डका बैंकहरु माओवादीको हातमा नरहेको भन्दै छानविन गरेर त्यहाँ भएको पैसा लैजान चुनौति दिनुभयो । साथै उहाँले अनावश्यक भ्रम फैलाउने प्रचार नगर्न पनि आग्रह गर्नुभयो । त्यस क्रममा कार्यक्रम सञ्चालक सम्सालमा माओवादीको आर्थिक हिनामिना भएको भन्ने समाचारबारेसोधिएको प्रश्नमा भट्टराईले सबैभन्दा बढी स्वच्छ भएकाले केही छिटा पर्दाप्रष्ट देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो-’जो धेरै सफा छ, त्यो धेरै सेतो भएको ठाउँमा अतिकति पनि छिटा फ्याक्यो भने देखिन्छ ।
जो पहिलेदेखि नै छिट्टै छिटाले भरिएको छ, त्यहाँ १०/१२ छिटा फ्याकेर देखिँदैन ।’ माओवादी उपाध्यक्ष समेत रहेका भट्टराईले माओवादीले सबैभन्दा बढी बिगि्रएको भन्ने आरोपमा सत्यता नरहेको बताउनु भयो । यस्तै माइती नेपालीका संस्थापक अनुराधा कोइरालाले एक गैरसरकरी संस्थाले उद्धारका नाममा भारतमा अध्ययन गरिरहेका बालबालिकालाई काठमाडौं ल्याएर अलपत्र पारेको गुनासो गर्नुभयो । जवाफमा प्रधानमन्त्री डा. भट्टराईले यसलाई आफूले गम्भीर रुपमा लिएको भन्दै त्यसको छानविन गर्ने र दोषीमाथि कारवाही गर्ने बताउनु भयो ।
कार्यक्रम सञ्चालक लम्सालले बिपा सम्झौताबारे राखेको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले देश र जनताको निम्ती सम्झौता गरेको भन्दै यो भोलि सत्य सावित हुने बताउनु भयो । यसो भए माओवादीले हिजो लिएको आर्थिक नीति गलत थियो त भन्ने लम्सालको प्रश्नमा भट्टराईले कूटनीतिक जवाफ दिनुभयो ।
सबै कुरा विदेशीमा परनिर्धर हुन नहुने तर, त्यसलाई सहयोगका रुपमा लिएर देशको विकास गर्नुभयो । उहाँले माओवादीले सात सालको राजनीतिक परिर्वतन र ४६ सालको आर्थिक उदारिकरण स्वीकार गरेको भन्ने बुझाई गलत भएको प्रष्ट पार्नुभयो । समय सँगसँगै गतिशील नीतिलाई आत्मासाथ गर्दै माओवादी अघि बढ्ने बताउनुभयो ।
कार्यक्रमको अन्तिम श्रोतका रुपमा सहभागी सर्लाहीका तिर्थ भण्डारीले भट्टराई स्वच्छ छवि भएपनि सहयोगीहरु भने एसियाकै भ्रष्टहरुमा पर्ने खालको रहेको भन्दै कसरी अघि बढ्नु हुन्छ भन्ने प्रश्न गर्नुभयो । जवाफमा भट्टराईले अगुवाले हिम्मत हार्न नहुने बताउनुभयो । रत्नाकर डाँकू बाल्मिकी हुनसक्ने भन्दै उहाँले आफू सचेत हुँदै अघि बढ्ने बताउनुभयो 

No comments:

Post a Comment