सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 7, 2011

अपरिवर्तित परिवर्तन

ऊ त्यति बेला किसोर अबस्थाकै थियो, भारी बोकेर गुजारा गर्ने उसको बाबुले रातमा डराई-डराई “…अब श्री ३ को सरकार जान्छ र ‘रामराज्य’ आउँछ…” भनेको उसले सुन्ने गरेको थियो । ‘श्री ३’ र ‘श्री ५’ भनेको के हो भन्ने नबुझे पनि ‘रामराज्य’मा भने उसको विशेष ध्यान थियो । अक्षर-कागज नपढेको भएपनि गाउँमै सुनेको रामायणको कथाको आधारमा उसले सो ‘रामराज्य’ आएपछि सबैले सुख पाउनेमा ढुक्क थियो ।
श्री ३ फालिए, र प्रजातन्त्र पनि आयो । तर अचानक केही समयमै उसको बाबुको मृत्यु भएकोले सुख र रामराज्य चाहिँ हैन, बाबुको डोको र नाम्लो भने उसको थाप्लोमा आयो । जीवन गुजारा गर्न अर्को कुनै उपाय र सहारा नभएकोले उसले पनि बाबुकै जस्तो भारी बोक्ने काम सुरु गर्‍यो ।
उसले दशकौँ भारी बोकेपछि देशमा फेरि निकै हलचल भएको भान उसले पायो। ठूला-ठूला कुरा नबुझे पनि यस पाला भने देशमा असली प्रजातन्त्र आउँछ रे अनि सबैले सुख पूर्वक बाँच्न पाउँछन् रे भन्ने सम्म उसले पनि बुझ्यो । राजनैतिक वृत्त र उपल्लो तहमा के कस्ता परिवर्तन भए उसले भेउ सम्म पनि पाएन । तर गाउँकै नेताहरूले “…अब तिमीहरू सबै सही अर्थमा स्वतन्त्र भएका छौ…” भनेको उसले पनि सुन्यो ।

दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो

दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो
हाँसेकै छ जिबन भनी, ढाट्न पाए हुन्थ्यो
सताउछस् कती दैब, जीउने मन छैन अरु
मक्कउदै च्याती जीबन, फाट्न पाए हुन्थ्यो
कस्लाई पोखु बह मनको, भीडमा नी एक्लो म
आफ्नै मुटु चिरा पारि, काट्न पाए हुन्थ्यो
सहनुले सीमा नाग्यो, अती गरिस तैले दैब
देउता बस्ने मन्दिर नै, च्यातन् पाए हुन्थ्यो
दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो
हाँसेकै छ जिबन भनी, ढाट्न पाए हुन्थ्यो

Sunday, November 6, 2011

चप्पल चोर्ने कुकुर

भारतको वाराणसी स्थित चोलापुर इलाकामा पर्ने कटारी गाउँमा एक अनौठो स्वभाव भएको कुकुर छ । स्थानीय एक व्यक्तिले पालेको उक्त कुकुर जुत्ताचप्पल चोर्नमा व्यस्त हुने गरेको छ ।
शेरु नामको त्यस कुकुर अरुको घरमा गएर सुटुक्क जुत्ताचप्पल मुखमा च्याँपेर मालिकको घरमा ल्याउने गर्छ । उसले जुत्ता चप्पलमा कुनै नोक्सान पुराउँदैन र मालिकको घरमा ल्याएर लुकाएर राख्ने गर्छ ।
कुकुरको यस्तो बानीको कारण गाउँलेहरुलाई निकै सास्ती भएको छ । उनीहरुले जुत्ताचप्पल घरभित्रै राख्न थालेका छन् । पूजाआजा लगायतका समारोहमा शेरुबाट जुत्ताचप्पल जोगाउन चौकिदार नै नियुक्त गर्ने गरिएको छ । खेतबारीमा काम गर्दा समेत गाउँलेले बारीको छेउँमा चप्पल फुकालेर राख्न छाडेका छन् ।
कुकुरको चोरी आतंकका कारण मन्दिरहरुमा चप्पलको सुरक्षा गर्न चौकिदार नियुक्त गर्ने तयारी गरिएको छ । कुकुर आतंकको बारेमा गाउँलेले गाउँपञ्चायतमा उजुरी गरेपछि कुकुरको समस्या कसरी समाधान गर्ने होला भनेर गाउँ पञ्चायत पनि सोँचमग्न छ ।

मलेसियावाट १ हजार ४८ अबैध नेपाली कामदार स्वदेश फर्किए

क्वालालम्पुर । अवैधरुपमा विभिन्न मुलुकहरुवाट मलेसिया पुगेका कामदारहरुलाई मलेसिया सरकारले स्वदेश र्फकन दिएको समयसीमा (अक्टुबर ३१ तारिख ) भित्र करिव १ हजार ४८ नेपाली कामदार स्वदेश फर्किएका छन् । मलेसिया सरकारले दिएको आममाफी कार्यक्रम लागू भएदेखि (अक्टोबर ३१ ) सम्म १ हजार ४८ नेपाली कामदार स्वदेश फर्किएका हुन् ।
मलेसियाले तोकेको सीमाभित्र नेपालसहित इन्डोनेसिया, भारत, म्यानमार र भियतनामका गरी करिव २५ हजार ५ सय ६१ जना स्वदेश फर्किसकेका छन् । आममाफी कार्यक्रममा दर्ता भएका कुल १३ लाख ३ हजार १ सय २६ जना अवैध विदेशी कामदारमध्ये करिव ३३ हजार अवैध कामदार नेपाली थिए । आममाफी पाउने संख्याका आधारमा नेपाल तेस्रो स्थानमा पर्दछ ।
मलेसिया सरकारले दर्ता कार्यक्रममा दर्ता नगरेका, छुटेका र घर र्फकन दर्ता भएका कामदारका लागि स्वदेश र्फकने समय दिएको थियो । मलेसियाली सरकारको ‘पछिल्लो तथ्यांक अनुसार अक्टोबर ३१ सम्ममा १ हजार ४८ जना मात्रै स्वदेश फर्किएको मलेसियास्थित नेपाली दुतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले जानकारी दिनु भयो ।
भट्टराईले वैध भई काम गर्न कतिपयले राहदानीका लागि आवेदन दिइरहेको र संकलित आवेदन नेपाल पठाइसकिएको समेत जानकारी दिनु भयो । यसैवीच मलेसियको सरकारले अबैध कामदारलाई वैध हुन आउँदो जनवरी १० सम्मको समय दिएको छ ।

Monday, October 31, 2011

यस्ता गुनासा सुनाए जनताले प्रधानमन्त्रीलाई


१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार दोश्रो पटक रेडियो नेपालको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममार्फत प्रत्यक्ष रुपमा जनगुनासो सुन्नु भएको छ । करिव एक घण्टाको कार्यक्रममा प्रत्यक्ष टेलिफोन सम्वाद तथा इमेलबाट सहभागिता जनाएका सर्वसाधारणले बढ्दो महंगी तथा कोलाबजारी नियन्त्रण, अनियमितता, त्रिभुवन विमानस्थलमा भोग्नु परेको समस्या, विकास निमार्ण लगायतका दैनिक जनजीवनमा भोग्नु परेको समस्याहरुबारे प्रधानमन्त्री भट्टराईको ध्यानाकर्षण गराएका छन् । केही स्रोताहरुले शान्ति र संविधान निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले सहमतिको प्रयास कहाँ पुग्यो भनेर जिज्ञासा राखे ।
कार्यक्रमको सुरुमा सञ्चालक नवराज लम्सालले शन्ति र संविधान निर्माणबारे तीन दलबीच भएको छलफलबारे जिज्ञासा राख्नुभयो । जवाफमा प्रधानमन्त्री भट्टराईले धेरै कुरा मिलिसकेको भन्दै बाँकी विषयमा टुङ्गो लगाउन जिम्मा तीन दलका अध्यक्ष/सभापतिलाई दिएको र भोलि बस्ने बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-’धेरै कुरा साँघुरिदै आएको छ, केही कुरा टुङ्ग्याउन बाँकी छ । भोलि चार बजेको बैठकमा सहमतिको प्रस्ताव पेश हुन्छ ।’ दलहरुले सहमति नजिक पुगेको भनेपनि जनताले विश्वास गर्न सकेका छैनन नि भन्ने लम्सालको प्रश्नमा भट्टराईले भन्नुभयो-’भोलि नभए पर्सी हुन्छ । पर्सी नभए निर्कोसी हुन्छ । यसमा अत्तिनु पर्दैन ।’ प्रधानमन्त्री भट्टराईले वार्ताकै क्रममा रहेको भन्दै सहमति हुन नसकेका विषयहरुबारे भने केही बताउन चाहनु भएन ।
कार्यक्रमको पहिलो सहभागी चितवन जुटपानीका माओवादी लडाकू विनायक लामाले सेना समायोजन तथा पुनःस्थापनाबारे के भइरहेको भन्ने प्रश्न गर्नुभयो । जवाफमा माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईले राजतन्त्रको उन्मुलन र लोकतान्त्रिक गष्ण्तन्त्र स्थापनामा लडाकूहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै लडाकूहरुको पूर्ण सम्मान हुने गरी सेना समायोजन तथा पुनस्थापना गरिने बताउनु भयो । उहाँले दलहरुबीच सहमति भएपछि लडाकूहरुको राय सुझाव लिएर नै को समायोजनमा जाने र को पुनःस्थापनामा जाने भन्ने टुङ्गो लगाइने बताउनु भयो ।
यसैगरी कार्यक्रममा सहभागीहरुले दशैं/तिहारमा बजार तथा त्रिभुवन राजमार्गका होटलहरुमा तिब्र पारिएको अनुगमन हाल आएर सुस्ताएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री भट्टराईले अनुगमन दशैं/तिहारमा मात्र नभई सधै हुने बताउनु भयो । उहाँले बजार अनुगमन संधै हुने भन्दै गलत हर्कत गर्नेलाई नछाडिने बताउनु भयो । त्यसबीचमा कार्यक्रम सञ्चालक लम्सालले अनुगमनकर्तालाई नै अनुगमन गर्नु पर्ने आवाज उठेको छ भनि सोधेको प्रश्नमा भट्टराईले सबैमाथि अविश्वास गरेर नहुने भन्दै सबैले एक अर्कालाई निगरानी गर्नु पर्ने बताउनु भयो । उहाँले महंगीबाट जनता आक्रन्त भएकोमा आफू चिन्तित रहेको भन्दै सरकारकै तर्फबाट राहत दिने र विशेष वितरण प्रणालीका लागि गृहकार्य भइरहेको बताउनु भयो ।
भट्टराईकै जिल्ला गोरखाकै धनश्याम कट्टलले औषधीमा ठगी हुने गरेको विषयमा राखेको जिज्ञासामा प्रधानमन्त्रीले यसबारे आफू गम्भीर रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’खासगरी औषधीमा मिलेमतो गरेर भाउ बडाएको मैले पनि सुनेको छु । यसको अडाईका साथ अनुगमन गर्नुपर्छ ।’ उहाँले यसमा उचित ध्यान दिने बताउनु भयो ।
सीमामा हुने दुव्यवहारबारे धेरै गुनासो आएकोबारेमा प्रधानमन्त्री भट्टराईले भारतीय गृहमन्त्रीसँग गम्भीर ढंगले कुरा भएको भन्दै विदेशमा रहेका नेपालीहरुले आफ्नो कमाई सहज ढंगले नेपाल ल्याउने वातावरण बनाउन सीमामा संयन्त्र बनाइने सहमति भएको बताउनु भयो । साथै उहाँले सीमा विवादबारे पनि भारत भ्रमणमा छलफल भएको बताउनु भयो ।
सर्लाहीका डुण्डिराज पोखरेलले जनयुद्धमा भन्दा सत्ता र सरकारमा हुँदा माओवादी तानाशाही देखिएको भन्दै ‘मर्ने बेलामा कमिलाको पखेटा आएजस्तै’ हो भनि कडा प्रश्न गर्नुभयो । जवाफमा भट्टराईले माओवादी पनि यही समाजको उपज भएको भन्दै कमिकमजारीबाट अछुत भन्न नसकिने बताउनु भयो । उहाँले समकालिन नेपालमा माओवादी सबैभन्दा त्याग र बलिदानबाट आएको भन्दै सिद्धिन लाग्यो भन्नु गतल हुने भन्दै कमीकमजारीलाई सच्याएर जानु पर्नेमा जोड दिनुभयो ।
स्विट्जरल्याण्डको एक बैंकमा कार्यरत व्यक्तिले माओवादी नेताहरुको भारतीय बैंकमा रहेको पैसा स्विट्जरल्याण्डमा गरेको बारे सोधेको प्रश्नमा भट्टराईले स्विट्जरल्याण्डका बैंकहरु माओवादीको हातमा नरहेको भन्दै छानविन गरेर त्यहाँ भएको पैसा लैजान चुनौति दिनुभयो । साथै उहाँले अनावश्यक भ्रम फैलाउने प्रचार नगर्न पनि आग्रह गर्नुभयो । त्यस क्रममा कार्यक्रम सञ्चालक सम्सालमा माओवादीको आर्थिक हिनामिना भएको भन्ने समाचारबारेसोधिएको प्रश्नमा भट्टराईले सबैभन्दा बढी स्वच्छ भएकाले केही छिटा पर्दाप्रष्ट देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो-’जो धेरै सफा छ, त्यो धेरै सेतो भएको ठाउँमा अतिकति पनि छिटा फ्याक्यो भने देखिन्छ ।